

काठमाडौँ । नेपाल शिक्षा परिषद् काठमाडौँ र काठमाडौँ महानगरपालिका–१ ले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी नाट्यसम्राट बालकृष्ण समको १२३औँ जन्मजयन्ती मनाएको छ । सो अवसरमा कमलपोखरी परिसरमा रहेको बालकृष्ण समको मूर्तिमा साहित्यकार, साहित्य अनुरागी तथा विद्यार्थीले माल्यार्पण गर्दै श्रद्धासुमन प्रकट गरे ।
बालकृष्ण समलाई कोहीसँग पनि तुलना गर्न नसकिने साहित्यकार पिताम्बर दाहालले बताए । उनले भने,“नेपालीभाषी उहाँप्रति सधैँ आभारी हुनुपर्छ । उहाँको कृति स्पष्ट बुझिने, शब्दरूपी गहना, माधुर्य भरिएको हुन्छ । शब्द छानेर राख्न सक्ने सामर्थ्य, मधुरता, स्पष्टता सम र बिपीमा मात्र पाइन्छ । उहाँ जस्ता विभूतिबारे सबै जानकार हुनुपर्छ ।”


बालकृष्ण समको सम्झना र सम्मानमा शिक्षा परिषद्ले लामो समयदेखि जन्मजयन्ती मनाउँदै आएको कवि प्रह्लाद पोखरेलले बताए । उनले पूर्वीय र पाश्चात्य दर्शनका विद्वान, बहुआयामिक व्यक्तित्व समको सम्मानमा हरेक वर्ष कार्यक्रम गर्दै आइएको जानकारी दिए ।
सोही अवसरमा नाट्यसम्राट सम केन्द्रित कविता प्रतियोगिता आयोजना गरिएको थियो । यसमा आर्या अवस्थी प्रथम, निमा लामा द्वितीय, अजर रेग्मी तृतीय र सन्तोषकुमार मण्डलले सान्त्वना पुरस्कार प्राप्त गरे ।
बालकृष्ण समको जन्म विसं १९५९ माघ २४ गते भएको थियो । उनलाई नेपाली साहित्य जगतका शेक्सपियर मान्ने गरिएको छ । उनका ‘मुकुन्द–इन्दिरा’, ‘प्रेमपिण्ड’,‘मुटुको व्यथा’ आदि चर्चित कृति मानिन्छन् ।
