

रौतहट । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु भएको बताएका छन् । रौतहटको गरूडामा एमाले जिल्ला कमिटीद्वारा मंगलबार आयोजित वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको बताए ।
अध्यादेशको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको उपमहासचिव ज्ञवालीको भनाइ थियो । देशमा अहिले चार लाख भूमिहीन किसान रहेको र १० लाख अव्यवस्थित बसोबास रहेको जानकारी दिँदै उनले यो अध्यादेशको विरोध गर्न नहुने बताए ।


उपमहासचिव ज्ञवालीले अब पार्टी आन्तरिक रूपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास दिलाउँदै एमालेमा योग्य नेताको अभाव रहेको अवस्थामा अस्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने कुनै ठाउँ नभएको बताए ।
पार्टीका स्थायी कमिटी सदस्य काशी अधिकारीले व्यवस्थित ढङ्गले पार्टी सञ्चालन गर्नुपर्ने धारणा राखे । पार्टीले गरेका निर्णयबाट पछाडि नहट्ने र डटेर अगाडि बढ्ने जानकारी उनले दिए ।
एमालेका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज लीला श्रेष्ठले अब पार्टी कामको मूल्याङ्कनको आधारमा अगाडि बढ्ने बताए । नातावाद र कृपावादबाट अब पार्टी नचल्ने बताउँदै उनले जनसङ्गठन पार्टीसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
