

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अछामस्थित बयलपाटा अस्पतालको सेवा निरन्तर सञ्चालन गर्न प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर कुँवरले रु ११ करोड बजेट अभावका कारण अस्पताल बन्द हुने अवस्था सिर्जना भएकोप्रति सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कुँवरले आवश्यक बजेट तत्काल उपलब्ध गराई निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका थिए।
उनको ध्यानाकर्षणपछि मन्त्री पौडेलले अस्पतालको सेवा प्रभावित हुन नदिन सरकार प्रतिवद्ध रहेको बताए। “बयलपाटा अस्पताल हाल सञ्चालनमा नै छ। यसबारे सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गर्नेछौँ,” उनले भने, “अस्पताललाई निरन्तर सञ्चालन गर्न प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्नेछौँ।”
सांसद कुँवरले बयलपाटा अस्पतालले सुदूरपश्चिम र कर्णालीका झन्डै आठ जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै तत्काल बजेट अभावको समस्या समाधान गर्न आग्रह गरे। “बजेटको अभावले अस्पतालको सेवा रोकिने अवस्था आउनु दुःखद छ। प्रदेश सरकारले उपलब्ध गराउँदै आएको रु ८ करोड बराबरको विशेष अनुदान दुई वर्षदेखि रोकिएको छ,” उनले जानकारी दिए।
उनका अनुसार अस्पतालको वार्षिक खर्च रु २२ करोड ४६ लाख रहेको छ, जसमा रु ११ करोड दातृ निकायबाट प्राप्त हुन्छ भने स्थानीय तहले रु ८० लाख योगदान गर्दै आएका छन्। बाँकी रु ११ करोड ६ लाखको बजेट अभाव कायमै रहेको उनले बताए।
यसै सन्दर्भमा सांसद दयालबहादुर शाहीले प्रस्तावमाथि थप स्पष्टीकरण माग गरेका थिए।
