छ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि पुष महिनासम्म सो बराबरको रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।


समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लखा ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।