

मकवानपुर । जिल्लाको कैलाश गाउँपालिकाका छ घरपरिवार चेपाङका आवास निर्माणका लागि अनुदान सम्झौता गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानको अध्यक्षतामा आज सम्पन्न बैठकमा ती चेपाङ लाभग्राहीले अनुदान सम्झौता गरेका हुन् ।
कैलाश–३ का ज्ञानमाया प्रजा, रामचन्द्र प्रजा, खुसीलाल चेपाङ र कैलाश–४ का प्रवीण प्रजा, हरिमाया प्रजा र गङ्गालाल प्रजाले अनुदान सम्झौता गरेको गाउँपालिका अध्यक्ष मोक्तानले जानकारी दिए । बागमती प्रदेश सरकारद्वारा सञ्चालित चेपाङ, वन करिया, बोटे, माझीको एकीकृत बस्ती तथा आवास कार्यक्रम अन्तरगत उक्त सम्झौता गरिएको हो । गाउँपालिका अध्यक्ष मोक्तानले मापदण्डअनुरूप समयमै घर निर्माण गर्न आग्रह गरे ।


प्रदेश सरकारले कार्यविधि बनाएर बस्ती तथा आवास निर्माण सुरु गरेको छ । गत आवमा २५ जनाले अनुदान सम्झौता गरेका थिए । लाभग्राहीले दुई कोठे १२/१२ फिटको घर निर्माण गर्नुपर्ने मापदण्ड छ ।
अनुदान रकम रु चार लाखमा कर कट्टी गरी तीन लाख ८४ हजार लाभग्राहीले प्राप्त गर्ने जनाइएको छ । तीन किस्तामा लाभग्राहीले रकम पाउने छन् । पहिलो किस्तामा भवनको जग खनेपश्चात २० प्रतिशत, दोस्रो किस्तामा सिल लेबल झ्यालसम्म निर्माण पश्चात ४० प्रतिशत र भवन निर्माण पश्चात ४० प्रतिशत रकम प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
