अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागु



बीबीसी । चीनले वाशिङटनका पछिल्ला निर्णयको जवाफमा केही अमेरिकी सामानहरूमा तोकेको आयात कर सोमबारदेखि लागु भएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध बढ्दै गएको र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कैयौँ देशहरूमा आयात शुल्क लगाउने धम्की दिइरहँदा बेइजिङको निर्णय कार्यान्वयनमा आएको हो । बेइजिङले फेब्रुअरी ४ मा यस्तो योजना घोषणा गरेको थियो।

अमेरिकाले सबै चिनियाँ उत्पादनहरूमा १० प्रतिशतले नयाँ आयात शुल्क लागु भएको केही मिनेटमै चीनले त्यस्तो घोषणा गरेको थियो । ट्रम्पले आइतबार सबै स्टील र एल्यूमिनिअममा अमेरिकामा २५ प्रतिशत आयात शुल्क लगाउने बताएका छन् जसको पूर्ण घोषणा सोमबार हुँदैछ ।


सुपर बोल प्रतियोगिता हेर्न जाने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अन्य राष्ट्रहरूमा उनीहरूलेजस्तै आयात शुल्क लगाउने योजना रहेको बताए । अमेरिकी सामानमा लगाइने चीनको पछिल्लो आयात शुल्कमा अमेरिकी कोइला र लिक्विफाइड प्राकृतिक ग्यास उत्पादनका आयातमा १५ प्रतिशत सीमा कर समावेश छ ।

त्यसबाहेक अमेरिकी कच्चा तेल, कृषि मसिनरी र ठूला इन्जीनका कारहरूमा पनि १० प्रतिशत आयात शुल्क छ ।

गत साता चिनियाँ अधिकारीहरूले प्रविधि कम्पनी गुगलको एकाधिकार विरुद्धको एक अनुसन्धान सुरु गरेका छन् । त्यसैगरी डिजाइनर ब्रान्ड केल्भिन क्लाइन र टमी हिलफिगरको अमेरिकी स्वामित्व कम्पनी पीभीएसलाई समेत बेइजिङको कथित ‘अविश्वसनीय वस्तु’ सूचीमा समावेश गरिएको छ ।

चीनले २५ वटा दुर्लभ धातु निर्यातमा नियन्त्रण गरेको छ। ती मध्येका केही कैयौँ विद्युतीय उत्पादन र सैन्य उपकरणका लागि अहम् मानिने सामग्री हुन्।

ट्रम्पले सप्ताहन्तमा अमेरिकाले गर्ने स्टील तथा एल्यूमिनिअम आयातमा २५ प्रतिशत कर लगाउने योजनाको घोषणा गरेका थिए । त्यसको केही दिनअघि उनले क्यानडा र मेक्सिकोसँग ती देशका सबै सामानमा २५ प्रतिशत आयात शुल्क लगाउने घोषणाबाट पछि हटेका थिए।