वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणप्रति डीएलए, नेविसंघ र तरुण दलको विरोध



काठमाडौं । सहकारी पीडितको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणप्रति सत्तारुढ दल नेपाली कांग्रेसको दुई वटा भातृ संगठन र एउटा सुभेच्छुक संस्थाले आपत्ति जनाएका छन् ।

बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतमा सहकारीपीडितको तर्फबाट बहस गरेर बाहिरिँदै गर्दा त्रिपाठीलाई रास्वपाका कार्यकर्ताले कुटेका थिए । सो आक्रमणप्रति कांग्रेसको सुभेच्छुक संस्था डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) सहित नेपाल विद्यार्थी संघ र तरुण दलले विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् ।


डीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको विज्ञप्तिमा बुधबार दिउँसो भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘कानुन व्यवसाय स्वतन्त्र न्यायपालिकाको अङ्ग हो, अदालतमा उपस्थित भई पक्षको तर्फबाट स्वतन्त्र र निर्भीक रूपमा बहसपैरवी गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी अधिकार हो’, डिएलएद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै तरुण दल अध्यक्ष विद्वान गुरुङ र नेविसंघ प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति निकालेर घटनाको विरोध तथा दोषीलाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here