काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी १० जना मन्त्रीहरु पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पुगेका छन् । आज (बिहीबार) सभापति देउवा निवासमा कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक जारी छ ।
बैठकमा मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमार्फत भए गरेका कामहरुको ब्रिफिङ सुनाइरहेका छन् । मन्त्रीहरुले सभापति देउवासँग सोचेअनुरुपको काम गर्न नसकेको स्वीकार गरेका छन् ।
त्यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा सरकारले भर्खरै ल्याएको अध्यादेशबारे जानकारी गराएका थिए । बैठकमा अध्यादेशको बारेमा पनि गम्भीर छलफल हुने बताइएको छ ।