तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी



वालिङ (स्याङ्जा) । स्याङ्जाका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनी तरकारीखेतीमा होमिएका हुन् ।

एघार वर्षअघि ‘प्रगतिशील कृषि फर्म’ दर्ता गरी तरकारीखेती सुरु गरेका डुम्रेको हालको मुख्य आम्दानीको स्रोत नै यही हो । “समयानुसारका मौसमी तथा बेमौसमी तरकारी, बिरुवा उत्पादन गरी बिक्री गर्दै आइरहेको छु”, उनले भने, “कृषिबाट नै राम्रो आम्दानी भइरहेको छ ।” डुम्रेले टनेलभित्र र बाहिरी जमिनमा बन्दा, काउली, ब्रोकाउली, सिमी, बोडी, साग, काक्रा, मुला, भेण्टा, घिरौँला, करेला, टमाटर, आलुलगायतका तरकारी उत्पादन र बिक्री गर्दै आउनुभएको छ । उहाँले हाल झण्डै छ रोपनी जमिनमा तरकारीखेती गर्दै आएका छन् ।


“तरकारी तथा बिरुवा बिक्रीबाट एक वर्षमा छ लाख ५० हजार आम्दानी भयो”, उनले भने, “यहाँ उत्पादन भएको ताजा तरकारी बिक्रीका लागि हालसम्म कुनै समस्या भएको छैन, बिक्री भएन भन्ने चिन्ता छैन ।”

स्याङ्जा र पर्वतको सिमानामा रहेको हुल्काङबाट सबैभन्दा नजिकको दुरीमा रहेको पर्वतको पैयूँ गाउँपालिकाको हातेमालो चोक बजारमा खपत हुने गरेको छ । हातेमालो चोकसँगै केही तरकारीहरु स्याङ्जाको वालिङ बजारमा खपत हुने गरेको उनले सुनाए ।

वालिङ–हातेमालोचोक जोड्ने सडकको किनारामै भएकाले यहाँ चल्ने सवारीसाधनमार्फत बजारीकरणमा सहज भएको डुम्रेले बताए । डुम्रेले व्यावसायिक तरकारीखेतीसँगै बाख्रापालन, कागती, अमिला जातका फलफूलको खेती पनि गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here