कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ: महामन्त्री शर्मा



झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई आगामी निर्वाचनको नभई देशको चिन्ता रहेको बताएका छन् ।

कांग्रेसको ‘कचनकवल–सगरमाथा जागरण अभियान–सङ्गठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान’ कार्यक्रमको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, ‘जलवायु परिवर्तनबाट हाम्रा हिमाल, हिमनदीहरु, जीवजन्तुको रक्षा कसरी गर्ने ? मुलुककै पुरानो पार्टीको हैसियतले नेपाली कांग्रेसले यी–यावत विषयमा चिन्ता गरिरहेको छ ।’


महामन्त्री शर्माले मुलुकमा रहेको विभेद, विकृति–विसङ्गतिविरुद्ध काम गर्नुपर्ने उल्लेख गरे । संविधान संशोधनमा नागरिकको अपेक्षा बुझ्नुपर्ने उनको भनाइ थियो । ‘गाउँ–गाउँमा आमनागरिकको अपेक्षा के छ, पार्टीहरुको अपेक्षा के छ, त्यसलाई बुझ्नुपर्छ’, उनले भने ।

महामन्त्री शर्माले २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति आपत्ति जनाए ।

उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नु भएको कुरा मैले सुनेँ । यदि नेकपा एमालेको बैठक हुँदै गर्दा प्रधानमन्त्रीज्यूले भन्नुभएको संविधान संशोधन त हुन्छ तर २०८७ सालमा हुन्छ भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक विमति राख्न चाहन्छु।’

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधनको विषय उठान गरेर मात्र नहुने संशोधनको मूल विषय पहिचान गरी नागरिकको पक्षमा संशोधन हुनुपर्नेमा जोड दिए। नेपाली कांग्रेस कोसी प्रदेश सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्म आङ्देम्बेलगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here