कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द



महोत्तरी ।  विगत तीन दिन देखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगर भित्रका विद्यालय बन्द गरेका छन् ।

सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै आज देखि लागू हुनेगरी एक साताका लागि नगर भित्रका विद्यालय बन्द गरेका हुन् ।


जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा गाउँपालिकाले आज देखि लागू हुनेगरी पुस २९ गते सम्मका लागि विद्यालय बन्द गरेका छन् भने एकडारा गाउँपालिकाले आगामी माघ १ गते सम्मका लागि विद्यालय बन्द गरेको विज्ञप्ति मार्फत जनाएका छन् । 

साना बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेपछि १० नगरपालिका र पाँच गाउँपालिका रहेका महोत्तरीका पाँच वटा पालिकाले बर्खे बिदा बाट कट्टा हुनेगरी जाडो बिदा दिँदै नगर भित्रका विद्यालयमा पठनपाठन बन्द भएको जनाएका छन् । 

तराई मधेसमा विगत दुई–तीन दिन देखि एक्कासि शीतलहर र चिसो हावा चल्न थालेपछि कठ्याङ्ग्रिदो र असहनीय जाडो भएर जनजीवन प्रभावित बनेको छ । 

असहनीय जाडोका कारण स–साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here