

जेरुसेलम । प्यालेस्टिनी लडाकू समूह (हमास)ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार सुपुर्दगी गरेको छ ।
गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत तीन इजरायली र पाँच थाई बन्दीलाई बिहीबार रिहा गर्ने योजना अनुसार नै उनलाई रिहा गरिएको हो । अन्य दुई इजरायली र पाँच थाई बन्धकलाई पनि आजै रिहा गरिनेछ ।


उत्तरी गाजा पट्टीको जबालियाको एक मञ्चमा हमास लडाकूहरूले परेड गरेपछि सैन्य पोशाकमा सजिएका बर्जरलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको थियो।
इजरायली सेनाले बर्जर इजरायल फर्किएको र उनको ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ पछि परिवारको जिम्मा लगाइने बताएको छ ।
यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायलीहरू आर्बेल येहुद, बर्जर र गादी मोसेस रहेको जनाएको थियो ।
हमास र सहयोगी लडाकू समूह इस्लामिक जिहादका स्रोतहरूले जबालिया शरणार्थी शिविर र खान युनिसमा हुने बताएको बन्धक आदानप्रदानको औपचारिक कार्यक्रम अघि इस्लामिक जिहाद समूहले मोसेस र येहुदले एकअर्कालाई अँगालो हालेको र मुस्कुराइरहेको भिडियो फुटेज प्रसारण गरेको थियो।
