‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतमा राखेर काम गरिरहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयले आज धनगढीमा आयोजना गरेको प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा शुभारम्भ कार्यक्रममा उनले सीमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले प्रयास गरिरहेको बताएका हुन् ।

मुख्यमन्त्री शाहले निःशुल्क रक्त सेवालाई प्रभावकारी बनाउँदै बढीभन्दा बढी जनता लाभान्वित हुने अवस्था बनाउने गरी लाग्न सबैलाई आग्रह गरे । उनले भने , “निःशुल्क रक्त सेवा शुरुआत भएको छ । यसलाई प्रदेशका बढिभन्दा बढी जनता लाभान्वित हुनेगरी अगाडि बढाउन आवश्यक छ । यस्ता काममा प्रदेश सरकारको सधैँ सहयोग रहन्छ । हामी अति आवश्यक कुरामा सधैँ उदार छौँ । यसबाट आमजनता लाभान्वित हुने अपेक्षा छ ।”


सामाजिक विकासमन्त्री मेघराज खड्काले निःशुल्क रक्त सेवाले विपन्न  बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारले यस यसलाई प्रभावकारी बनाउँदै लैजाने बताए ।

मुख्यमन्त्री शाहले गत साउन २१ गते पदभार ग्रहण गर्दा प्रदेशभर निःशुल्क रगतको व्यवस्था गर्ने निर्णय गरेका थिए । सोही निर्णयको कार्यान्वयन गर्दै आइतबारबाट प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा शुरु गरिएको हो ।

सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्य गरी प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउने जनाएको छ । यसका लागि रक्तसञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग मन्त्रालयले सम्झौता गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here