सेवा प्रवाहमा सजीकरण गर्न सरकारले अध्यादेश जारी गर्‍यो : मन्त्री भण्डारी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा प्रवाहमा सजीकरण गर्न सरकारले केही ऐन संशोधन गर्न अध्यादेश जारी गरेको बताएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले छिट्टै जनताले सेवा प्रवाहमा सुधारको महसुस गर्ने विश्वास व्यक्त गरे ।


“एउटा फाइल एउटा टेबुलमा कति दिन राख्ने ? अनन्त समयसम्म त्यही टेबुलमा राख्ने कुरा अन्त्य गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउन खोजिएको छ”, मन्त्री भण्डारीले भने, “राजनीतिक र प्रशासनिक नेतृत्वलाई जवाफदेही र जिम्मेवार बनाउन अध्यादेश अघि बढाइएको हो ।”

सेवा प्रवाहका क्रममा आउन सक्ने जटिलतालाई अन्त्य गरेर नागरिकलाई सहजरुपमा सेवा उपलब्ध गराउन वर्तमान सरकार क्रियाशील रहेको उहाँको भनाइ थियो । “चाँडो सेवा प्रवाह सरकारको उच्च प्राथमिकतामा छ, शासकीय संरचनामा सुधारको अनुभूत गरेको अवस्था आउनेछ”, मन्त्री भण्डारीले भने ।

आमजनताको खाद्य सम्प्रभूतासम्बन्धी संवैधानिक हकको कार्यान्वयन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले सेवा विविधीकरण, आमजनताको भरपर्दो र पहुँचयोग्य संस्थाका रुपमा विकास गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here