सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छः प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन् ।


उनले भने, ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौँ तर व्यवहारमा कसले के गर्छ भन्ने महत्त्वपूर्ण हुन्छ । यसमा नियत र निष्ठा बढी महत्त्वपूर्ण हुने रहेछ । के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौँ त ? नेपाली समाजले राजनीतिक दलहरू र सरकारबाट त्यो महसुस गरेको छ त ? यो गम्भीर प्रश्नको जवाफ दिनैपर्छ ।’

उनले आफूले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको स्मरण गराए ।

उनले भने, ‘मैले सरकारमा रहँदा जे बोल्थेँ र गर्थें, अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले बुझ्दै गएका छन् ।’

जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको पनि उनको भनाइ छ । उनले भने, ‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु । मैले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लिएको संकल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ ।’

नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उनले अहिलेको चुनौतिलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘हिजोदेखि आजसम्म नेपाली पत्रकारिता क्षेत्रले सकारात्मक सूचना प्रवाहमा भूमिका निर्वाह गरेको छ, यो स्मरणीय छ । हिजो युद्ध, शान्ति र संविधान निर्माणको प्रक्रियामा यस क्षेत्रले खेलेको भूमिका अवस्मरणीय ठान्छु । यो इतिहासमा राम्रैसँग दर्ज पनि भएको छ ।’

उनले विश्वव्यापी रुपमा गलत र भ्रामक सूचनाको सञ्जाल विस्तार भइरहेको बेलामा यसले सिर्जना गर्ने चुनौति सामना गर्ने दायित्व पत्रकार महासंघको काँधमा पनि रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here