काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलगायतको विरुद्ध मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीविरुद्ध भोलि पुरक अभियोग दायर गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी रहेको छ ।
आज (बिहीबार) १७ जनाविरुद्ध थप अभियोग पत्र दायर भएको छ । गितेन्द्रबाबु राईसहित २८ जनाविरुद्ध यसअघि नै अभियोग दायर भइसकेको थियो । आजको थप अभियोगमा प्रतिवादी जिबी राईसहित १७ जनाविरुद्ध संगठित अपराधको कसुर पनि समावेश गरिएको छ ।
पहिले नै मुद्दा दायर भइसकेकाहरुको कसुरमा आज थप कसुर र विगो थप गरेर अभियोग लगिएको र पुरक अभियोग भने भोलि दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछाने र जोशीलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गर्ने तयारी रहेको बताइएको छ ।