

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्ने बताएका छन् । नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले जनताले सही सूचना पाए मात्र राष्ट्रिय एकता बलियो हुने बताए ।
उनले सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) ले जनताको हितका लागि भूमिका निर्वाह गर्नुपर्ने बताए । पीएसबी कार्यान्यवन गर्न मन्त्रालयले नीतिगत र बजेटको व्यवस्था गर्ने उल्लेख गर्दै उनले यसका लागि कर्मचारीले कामको दायित्व बोध गर्नुपर्नेमा जोड दिए ।


“तपाईहरु काममा ध्यान दिनुहोस्, नीतिगत संरचना र बजेटको व्यवस्था गर्ने काम म गर्छु”, सञ्चार मन्त्री गुरुङले भने, “जनतालाई सहि र तथ्यगत सूचना दिनुहोस् ।”
पीएसबीको प्रभावकारीताका लागि आवश्यक बजेट, नीति र स्रोत जुटाउने उनले उल्लेख गरे । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाल गौरवमय इतिहास बोकेका सरकारी सञ्चार माध्यम भएपनि समय सापेक्ष परिस्कृत गर्नुपर्नेमा जोड दिए ।
त्यसै अनुरुप पीएसबी मोडल आएको र यसको भरपुर प्रयोग गरेर जनताको घर घरमा सूचना सेवा पुग्न सके मात्रै यसको सार्थकता सावित हुने बताए । “तीन तहको सरकारबीचको अन्तरसम्बन्ध तथा यर्थाथ सूचना दिइ जनतालाई जागरुक गराउनु पिएसबीको मुख्य दायित्व हो”, सञ्चार मन्त्री गुरुङले भने ।
