

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले सरकारले विधेयक अधिवेशनलाई अध्यादेशको अधिवेशन बनाएको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले हिउँदे अधिवेशनअघि सरकारले अध्यादेश ल्याएर अध्यादेश अधिवेशन बनाउनु दुःखद् भएको बताए ।


उनले नियमित अधिवेशन समयमा नबोलाउने र अध्यादेश धमाधम ल्याउनु दुःखद् भएको बताए । उनले सरकारले अध्यादेशबाट शासन गर्ने प्रवृत्ति लिएको भन्दै आपत्ति जनाए ।
उनले भने, “यो अधिवेशनलाई सरकारले अध्यादेश अधिवेशन बनायो। हिउँदे अधिवेशन, नियमित अधिवेशन समयमा नबोलाउने, त्यसलाई पर धकेल्दै लैजाने, अनि अध्यादेशहरु धमाधम जारी गरेर ६ वटा अध्यादेश यो अधिवेशन बोलाउनु अगाडि जारी गरियो। र अहिले त्यो अध्यादेश प्रश्तुत हुँदैछ। विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्यो सरकारले। त्यसप्रति म दुःख प्रकट गर्दछु। सरकारको अध्यादेशबाट शासन गर्ने यो प्रवृत्तिप्रति घोर आपत्ति प्रकट गर्न चाहन्छु।”
सांसद श्रेष्ठले देश विकासमा सत्तापक्ष र प्रतिपक्ष नभनि काम गर्नुपर्ने बताए ।
