

भोजपुर । वर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै आएको सडक कालोपत्र भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ । बढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिव दुई किलोमिटर सडक कालोपत्र गरिएपछि स्थानीयलाई सहजता भएको हो । कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय अन्तर्गत दुई किमी सडक कालोपत्र सम्पन्न भएको हो ।
यस आर्थिक वर्षमा रु. दुई करोड २० लाख लागतमा दोश्रो खण्डको बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । गत आर्थिक वर्षमा पहिलो खण्डको आठ सय मिटर कालोपत्र सम्पन्न गरिएको उनको भनाइ छ । दुई आर्थिक वर्षमा दुई किमी सडक निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।


‘सातिघाट–दिङ्ला सडक कालोपत्र गरिरहेका छौँ’, प्रमुख रेड्डीले भने, ‘यो सडकमा बर्षेनी थोरै थोरै मात्र बजेट आउने गरेको छ । यो आर्थिक वर्षमा करिव बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको छ ।’ उत्तरी क्षेत्रको लागि निकै महत्वपूर्ण सडक भएपनि राज्यबाट कम मात्र बजेट विनियोजन हुँदा थोरै÷थोरै मात्र सडक कालोपत्र गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । राज्यले यस्ता महत्वपूर्ण सडकलाई बहुवर्षिय सडकमा राखेर प्राथमिकताका साथ बजेट विनियोजन गर्नु पर्ने उनले बताए । यो सडक खण्डको कुल लम्बाई बाह्र किलोमिटर रहेको उनको भनाइ छ ।
यहाँ प्रि मिक्स प्राविधिबाट सडक कालोपत्र गरिएको हो । सडक तोकिएको मापदण्ड अनुसार गुणस्तरियढंगले निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका सव–इन्जिनियर चन्द्र शेखर सिंहाले बताए । सडकमा लगाएको सामग्रीको ल्याव परिक्षण गरेर मात्र प्रयोगमा ल्याइएको उनको भनाइ छ । २०८० चैत महिनाबाट शुरु भएको सडक निर्माणको ११ महिनामा सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि नवीन यादवले बताए ।
सातिघाट–दिङ्ला सडक कालोपत्र भएपछि सहजता भएको स्थानीयबासीको भनाइ छ । भोजपुर र संखुवासभालाई जोड्ने सतिघाटमा पक्की पुलबन्न आवश्यक रहेको स्थानीयबासी नवीन कार्कीले बताए । राज्यको तहबाट यहाँ पक्की पुल निर्माण पहल भएदेखी स्थानीयबासीलाई थप सहजता हुने उनको भनाइ छ । यो प्रदेश सरकारको बजेटमा सडक कालोपत्र भएपछि आवतजावतमा सहजता भएको षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए । सडक कालोपत्रले स्थानीयलाई सहज भएपनि अरुण नदीमा पक्की पुल नहुँदा भने समस्या रहेको उनको भनाइ छ ।
