

काठमाडौं । संकटाले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले उपाधि जितेको छ ।
निर्धारित ९० मिनेटमा गोलरहित र पेनाल्टी सुटआउटमा ३–३ को बराबरीपछि सडन डेथमा संकटाले बाजी मारेको हो । समग्रमा संकटाले ४–३ को जित निकाल्यो । सडन डेथमा दीपले गौरव श्रेष्ठको पेनाल्टी रोक्दै संकटालाई आफ्नो कप्तानीमा उपाधि दिलाए ।


उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्यो । बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक खेलकुद महासंघले आयोजना गरेको प्रतियोगिताको फाइनल हेर्न पार्टी सभापति शेरबहादुर देउवा, नेता गोलमान श्रेष्ठलगायत त्रिपुरेश्वर पुगेका थिए ।
