सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले उनीसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो ।
नवनिर्वाचित अध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेको सम्बन्धी दुईवटा मुद्दा दर्ता भएको छ । नवनिर्वाचित वडा अध्यक्ष साह मंसिर २० गते शपथ समारोहबाटै पक्राउ परेका थिए ।
साहसहितको समूहले सन्तोषकी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको उनीहरुमाथि आरोप छ ।
फागुन २०७९ मा डाक्नेश्वरी नगरपालिका–१ माधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता बनाइएको आरोप छ । नितिशको अवस्था अझैसम्म अज्ञात छ ।