विराटनगर भन्सारले संकलन गर्‍यो ६ महिनामा ७७ प्रतिशत राजश्व



मोरङ। विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०८१/०८२ को पुस महिनासम्म ७७ दशलमव ५५ प्रतिशत राजश्व संकलन गरेको छ।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०८१/०८२ को पुस महिनामा भने राजश्व संकलन ९६ दशमलव १७ प्रतिशत भएको छ।


कोभिड महामारीपछि शिथिल अवस्थामा रहेको राजश्व असुली यसपटक भने केही सकारात्मक अवस्थामा पुगेको हो। कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले पुस महिनाका राखिएको लक्ष्य ३ अर्ब ३१ करोड ९३ लाख ४७ हजार रुपैयाँमा ३ अर्ब १९ करोड २० लाख २७ हजार रुपैयाँ राजस्व असुली भएको जानकारी दिए।

उनका अनुसार गत वर्षको पुसमा ४ अर्ब २८ करोड ४२ लाख ३३ हजार रुपैयाँको लक्ष्य तोकिएको थियो। जसमा कार्यालयले ३ अर्ब ३१ करोड ९३ लाख ३१ हजार रुपैयाँ मात्रै संकलन गरेको थियो। सूचना अधिकारी गुप्ताका अनुसार पुसमा औद्योगिक कच्चा पदार्थको आयात वृद्धि हुँदा राजस्व संकलन बढेको हो।

त्यसैगरी गुप्ताले मंसिर महिनामा लक्ष्यको ७४ दशमलव ६४ प्रतिशत राजस्व संकलन गरेको जानकारी दिए। ३ अर्ब २७ करोड ४५ लाख २७ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा कार्यालयले २ अर्ब ४४ करोड ४० लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको उनले बताए।

कार्तिक महिनाका लागि ३ अर्ब ३२ करोड ९४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा २ अर्ब ३८ करोड ७९ लाख ४४ हजार रुपैयाँ असुली गरेको थियो।

कार्यालयले असोज महिनामा ७४ दशमलव ६६ प्रतिशत राजश्व संकलन गरेको थियो। ३ अर्ब ३१ करोड ४८ लाख ९० हजार रुपैयाँको लक्ष्यमा २ अर्ब ४७ करोड ४७ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भदौ महिनामा ६८ दशमलव २६ प्रतिशत राजश्व संकलन भएको छ। ३ अर्ब ५८ करोड ११ लाख ८५ हजार रुपैयाँ लक्ष्यमा २ अर्ब ४४ करोड ४२ लाख ६९ हजार रुपैयाँ संकलन गरेको कार्यालयले जनाएको छ।

त्यसैगरी साउनमा ३ अर्ब २५ करोड ५९ लाख ८९ हजार रुपैयाँ लक्ष्य राखिएकोमा २ अर्ब ६२ करोड ४२ लाख ९३ हजार रुपैयाँ असुली गरेको थियो। जुन लक्ष्यको ८१ द्यशमलव ५७ प्रतिशत हो।

कार्यालय सूचना अधिकारी गुप्ताका अनुसार चालु आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा कार्यालयले गत आर्थिक वर्ष ०८०/०८१ को तुलनामा ३ प्रतिशतले राजस्व संकलन बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here