वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार : उद्धव थापा



झापा । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार रहेको बताएका छन् । पार्टीको सयदिने विशेष साङ्गठनिक अभियानअन्तर्गत आज झापा क्षेत्र नं ५ ले यहाँ आयोजना गरेको कार्यक्रममा उनले समानुपातिक व्यवस्थाको मर्म नमर्ने गरी राजनीतिक स्थायित्वका सवाल संविधान संशोधनको मुद्दा बन्ने बताए ।

सभापति थापाले राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसले निर्वाह गरिरहेको अभिभावकीय भूमिकालाई थप सशक्त बनाउन हाल सञ्चालित अभियानले थप योगदान दिने बताए । कोशी प्रदेशले यही पुस २४ गतेदेखि कचनकवलबाट सोलुखुम्बुस्थित सगरमाथाको फेदीसम्म सञ्चालन गर्ने पदयात्राले तराईदेखि हिमालसम्मका नागरिकहरुलाई पार्टीमा जोड्न र नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे ।


“पार्टीले शुरु गरेको यस अभियानका क्रममा चौध जिल्लाको साङ्गठनिक अवस्था, जनप्रतिनिधिको भूमिका, कांग्रेस सरकारमा रहँदा ल्याइएका गौरवका योजना, पार्टीका अग्रज एवं सहिद परिवारको राजनीतिक योगदान र पारिवारिक अवस्थालगायत विषयमा अन्तरक्रिया हुने भएकाले पनि यसले पार्टीमा ऊर्जा थप्नेछ”, उनले भने, “यो अभियान सात महिनापछि सगरमाथाको कालापत्थरमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न सात राष्ट्रका विज्ञहरू राखेर छलफल गरेर समापन हुने छ ।”क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, पूर्वआमन्त्रित केन्द्रीय सदस्य दिलीप राई, झापाका पार्टी सभापति देउकुमार थेवे, उपसभापति केशव पाण्डेलगायतले सम्बोधन गरेका थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here