म्याग्दी । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ ।
साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरूमा भन्दा वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताए ।
एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो । चालु आर्थिक वर्षमा तीन हजार आठ सय छ हेक्टर जमिनमा धान रोपिएकामा १३ हजार छ सय ६४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्ष सोही क्षेत्रफलमा १२ हजार नौ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो ।
अनुकूल, मौसम रोगको कम प्रभाव, रोपाइँका बेला पर्याप्त वर्षा र बालीलाई पानी आवश्यक परेका बेला पनि वर्षा भएकाले विगतको तुलनामा उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए ।
दुई हजार दुई सय ९७ वर्ग किलोमिटरमा फैलिएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ । हाल १९ हजार ४ सय ९८ हेक्टरमा मात्र खेती भएको छ ।