मकवानपुर । मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्र सरोवर गाउँपालिका-५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।
उनले पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा उक्त सडकमा यातायात सञ्चालन बन्द गर्न लागिएको उनले बताए । उक्त सडक आगामी माघ ७ गतेसम्म बन्द रहने उनले बताए ।
यस्तै, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी-फाखेल सडक खण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा एकतर्फी मात्रै सवारी साधना सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
उनका अनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारी सिस्नेरीतर्फबाट र काठमाडौँबाट हेटौँडा आउने सवारी साधन फाखेलबाट सञ्चालन भइरहेको छ । दुवै सडक खण्डमा हाल स्तरोन्नति भइरहेको छ ।