काठमाडौं । नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता डा. भीम रावलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन् ।
पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले ओलीमाथि नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार नगर्नु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका ७४ वटा प्रश्न गरेका छन् ।
उनले अोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप पनि लगाएका छन् । उनले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए । उनले देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको बताए ।
उनले भने, ‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्, भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’
उनले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन् । उनले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।” साथै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा घोषणा पनि गरेका छन् ।
https://drive.google.com/file/d/1zxjSyBAAHpJa8XFLc21ur_3GGz2w42J2/preview