भादगाउँ (भक्तपुर) । भक्तपुरका नेवार समुदायले आज माघे सङ्क्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाउँदैछन् । सो समुदायमा हाम्ह सँलु अर्थात् तिल सङ्क्रान्तिका रूपमा परिचित माघे सङ्क्रान्तिमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक एवं सांस्कृतिक रूपले हर्षोल्लासका साथ मनाइने एक मौलिक पर्व हो ।
दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच दीपङ्कर बुद्ध, विभिन्न विहारका गुरु र पुरोहितलाई आ–आफ्नो मनोकाङ्क्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक महादान पर्व हो ।
सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल धर्मदीप विहार गोल्मढी, जयकीर्ति महाविहार (थथुवहि) दूधपाती र बौद्ध समकृत विहार भार्वाचो गरी पाँच दीपङ्कर बुद्ध एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दानदाताको कूलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपङ्करहरू) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकीर्ति महाविहार (थिमि)का उपाध्याय गुरुजु एवं मुलपूरोहित गुरुजुलाई भक्तपुर जयकीर्ति महाविहार थथुवहीस्थित भुइँख्यल क्षेत्र अर्थात् दूधपाटीस्थित नःपुखु परिसरमा जम्मा गरिन्छ ।
सम्यक महादानमा चतुब्र्रम्ह महाविहार सङ्घका कूलदेवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा छ । यसपछि लहरै मूल दीपङ्कर, बाहाछे दीपङ्कर, झौरबही दीपङ्कर, थथुबही दीपङ्कर र कुथुबहि दीपङ्करलाई भोजन चढाउने गरिन्छ । सँगै क्रमबद्ध रूपमा विराजमान गराइएका चारवटा सम्यक द्यो (सुवर्ण दीपङ्करको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मूल गुरुजु, गुरुजुहरू त्यससँगै लामबद्ध भएर बसेका सयौँ बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरूलाई सम्यक दान दिने परम्परा छ ।
सम्यक महादानमा भूमिमा उब्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीका साथै फलफूल र मिठाई दान गरिन्छ । साथै धान, चामल, लड्डु (रोटी र सक्खर मिलाइ बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ ।
विशेषगरी सम्यक महादान पर्वमा गेडा मास, मासको दाल, रातो मास, गेडा मुगी, केराउ, सेतो भटमास, मस्याङ, बोडी, गहतलगायत २५ थरि गडागुडीका परिकार दान गरिन्छ । बेथी, मेथी, लट्टेको साग, पिँडालु, लप्सी, रायोको साग, मटरकोसालगायत तरकारी दान गरिन्छ । यसैगरी मिठाईमा लड्डु, पुरी, घ्यूचाकु, पञ्च पकुवान, चटामरी, मासको बारा, फलफूलमा अमला, देलचा, बल, सतबेल, चयपि, खयपि र उखु दान गरिन्छ भने दूध, दही र भाइमसाला पनि दान गरिन्छ ।
यस्तै, सम्यक महादानमा सहभागी गृहस्थ भिक्षुहरू बज्राचार्य र शाक्य वर्गहरूलाई धान चामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ । यस पर्वमा दान गर्ने दाताले परम्परागत रूपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षु शाक्य र बज्राचार्य भन्टेहरूलाई भोजन, अन्न र दक्षिणा दान गरी भव्य रूपमा मनाउँदै आएको स्थानीय बुद्धरत्न शाक्यले बताए ।
उनले भने, “दीपङ्कर बुद्धलाई ठूलो थालमा भोजन चढाइ साथमा एक पाथी सरुवा चामल चढाइन्छ । त्यसपछि स्थानीयले गच्छेअनुसार दीपङ्कर बुद्ध, सम्यक देवता, तथागतलगायतलाई धान, चामल, गहुँ, केराउ, मास, भटमासलगायत गेडागुडी, तिलको खिर, बिस्कुट, विभिन्न थरिका मिठार्ई, मौसमअनुसारको फलफूल, सक्खर, घ्यूतिल मुछेर बनाएको लड्डु, सागपात र दक्षिणा आदि चढाइन्छ ।”
यसरी सम्यक महादान गर्दा दीपङ्कर बुद्धलगायत सम्यक देवताहरूको विधिवत पूजापाठ गरिसकेपछि स्थानीय धर्मगुरु थपाजुलाई पनि सम्यकदान दिने परम्परा छ । त्यसपछि मात्र बौद्ध धर्मालम्बीहरूको पुरोहित, बज्राचार्य, शाक्यवर्गलाई सम्यकदान दिइन्छ । यसरी दान गर्दा स्थानीय भक्तजन क्रमशः लामबद्ध भएर दिइने परम्परा छ । यसरी सम्यकदान दिँदा मनोवाञ्छित फल पाउने धार्मिक विश्वास छ ।
सम्यकदान पर्व बुद्धको पालादेखि चल्दै आएको विश्वास रहे तापनि ऐतिहासिक प्रमाणका रूपमा लिच्छवीकालीन धार्मिक राजा वृषदेवको पालामा सुरु भएको हो । काठमाडौँ उपत्यकामा सांंस्कृतिक सम्यकदान पर्व नियमित र ऐच्छिक रूपमा चल्दै आएको छ । काठमाडौँमा प्रत्येक १२ वर्षमा एकपटक स्वयम्भू र ललितपुरमा पाँच वर्षमा एकपटक नागवहालमा सम्यक महादान पर्व मनाइन्छ । भक्तपुरमा प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन यो सांंस्कृतिक पर्व मनाइन्छ ।
भक्तपुरमा सम्यक महादान पर्व नेपाल संवत् ७८७ मा सुरु भएको बताइएको छ । भक्तपुर दरबार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका सङ्घ सदस्य जयरत्न बज्राचार्यले नेपाल संवत् ७८७ मा आफ्ना दिवङ्गत पिता जयदेव बज्राचार्यको नाममा दीपङ्कर बुद्धलगायत विभिन्न विहारका सङ्घ सदस्यलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको प्रमाणित इतिहास रहेको छ ।
उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाट नै नेपाल संवत् ७९४ मा उक्त विहारको जिर्णाेद्वार गरी सोही वर्ष राजा जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रूपमा सम्पन्न गरेको इतिहास छ । जयरत्नले सम्यक दानपर्व नियमित रूपमा बर्सेनि आयोजना गर्न करिब तीन सय ६० रोपनी जग्गाको आयस्ता व्यवस्था गरिएको थियो । जयरत्नपछि उनका छोरा जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भव्य रूपमा सम्यकदान पर्व आयोजना गरी सुवर्ण दीपङ्कर स्थापना गरिएको थियो ।
नेसं १०४४ मा भक्तपुर क्वाठण्डौ विश्वकर्माछेँ टोलका शाक्य भिक्षु जुजुरत्नले ऐच्छिक सम्यकदान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपङ्कर, सुवर्ण देवतासहित लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनी, नमोबुद्ध, जनवहाद्य, बनेपा, पनौती, श्रीखण्डपुर, नाला, साँगा, थिमि आदि ठाउँमा रहेका दीपङ्कर तथागतहरू समेत उपस्थित भएको ऐतिहासिक तथ्य रहेको भक्तपुर सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बज्राचार्यले जानकारी दिए ।
नियमित रूपमा सम्यकदान पर्वका लागि व्यवस्था गरिएको तीन सय ६० रोपनी जग्गामध्ये २० रोपनीमात्र जग्गा बाँकी रहेको अध्यक्ष बज्राचार्यले बताए । बाँकी जग्गा राणा प्रधानमन्त्री जङ्गबहादुरदेखि विभिन्न समयमा अधिकरण गरिएकाले सम्यकदान पर्व सञ्चालन हुने स्थान साँघुरिँदै गएको अध्यक्ष बज्राचार्यले जानकारी दिए । सम्यकदान पर्व सञ्चालन हुने भुइख्य क्षेत्रमा अधिकरण गरी सरकारले हाल भक्तपुर अस्पताल, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, जिल्ला हुलाक कार्यालयलगायत सरकारी निकायहरू छन् ।
माघे सङ्क्रान्तिका दिन मनाइने सम्यक महादान पनि भाद्र कृष्ण चर्तुथीमा मनाइने पञ्चदानकै रूपमा लिने स्थानीय बताउँछन् । पञ्चदान पर्वमा भक्तपुर नगरका सबै टोलटोलमा गई भूमिमा उब्जनी हुने पाँच किसिमका वस्तु दान दिइन्छ भने सम्यक महादान पर्वमा भुइख्योमा आई भक्तजनले गच्छेअनुसारको दान दिन्छन् ।
भक्तपुरमा पञ्चदान र सम्यक महादान पर्व बडो धुमधामका साथ मनाइँदै आएको छ । यसरी धुमधामका साथ चाडपर्व मनाउन स्थानीय नेवार समुदाय, बज्राचार्य, शाक्य, मानन्धर आदि हुन् । यो पर्व बौद्ध धर्मका अनुयायीहरूका साथै धार्मिक सहिष्णुता भएका हिन्दू नेवारहरूको समेत उल्लासमय पर्वका रूपमा लिइन्छ ।
सम्यकदान गौतम बुद्धको पालादेखि चलिआएकाले लिनेदिने, भौतिकवादमा विश्वास गर्ने, आधुनिक र सभ्य भनाउँदाहरूलाई मानिसले एकअर्काप्रति दायामाया गर्नुपर्छ, दीनदुःखी र असहायलाई आवश्यक सहयोग गरी उद्धार भावना हुनुपर्ने सन्देश दिइन्छ । प्रत्येक वर्ष सम्यक सङ्घ भोजन दान पर्वको सञ्चालन चतुब्र्रम्ह महाविहारअन्तर्गतको तधिछें खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको अध्यक्ष बज्राचार्यले जानकारी दिए ।