बार अध्यक्षको अवहेलना मुद्दा न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा पेसी



काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी निवेदनको पेसी न्यायाधीशद्धय नहकुल सुवेदी र  अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको छ । सर्वोच्च अदालतका तर्फबाट प्रतिवेदन उठाई दर्ता गरिएको अदालतको अवहेलना  एक नम्बरमै  पेसी तोकिएको हो । घिमिरेको मुद्दा माथि दुई वटा बन्दी प्रत्यक्षीकरण निवेदनमात्र पेसी रहेका छ। 

सुरुमै  पेसी भएकाले सुनुवाइ हुने सम्भावना छ ।  यसअघि अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनेर लिखित जबाफ दिन आदेश गरेको थियो ।  उनलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्द प्रसाद घिमिरेले तयार गरेको प्रतिवेदन दसैँअघि दर्ता भएको थियो।


सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले उनलाई सात दिनभित्र आफै वा आफ्नो वारेसमार्फत लिखित जबाफ बुझाउन भनेको थियो । सर्वोच्चको उक्त आदेश पछि उनले बारका तर्फबाट लिखित जवाफ पेस गरेका थिए । 

नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उपरजिस्ट्रार गोविन्द घिमिरेले उनलाई अवहेलनामा कारबाही गर्नुपर्ने प्रतिवेदन तयार पारेका थिए। बार अध्यक्षले गरेको टिप्पणीप्रति न्याय परिषद्ले समेत विज्ञप्ति जारी गरेर खेद प्रकट गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here