काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले आज आयोजना गरेको जिल्ला सुरक्षा समितिसँगको भर्चुअल बैठकमा गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रुपमा रहेको उल्लेख गर्दै सीमित स्रोतसाधनका बीच गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् ।
“अहिले चुनौतीका रुपमा देखा परेका तीनवटै विषय एकअर्कासँग सम्बन्धित छन्”, उनले भने, “त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।” सीमामा हुने अपराध, चोरीसिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशिलताको नीति अपनाउन आग्रहसमेत उनले गरे ।
मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरु अगाडि बढाएको उल्लेख गर्दै मन्त्री लेखकले सोहीअनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए । “हामीसँग शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी छ”, उनले भने, “विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्तिसुरक्षा हुनैपर्छ ।”