

काठमाडौं । नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताएका छन् ।
नेपाल जाइका अलमनाई एशोसिएसन (जान) द्वारा नवनियुक्त राजदूत मायदाको सम्मानमा बिहीबार आयोजित स्वागत कार्यक्रममा उनले नेपाल–जापानबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए ।


धेरै वर्ष पहिला नेपालको भ्रमणमा आफूले यहाँको सुन्दर पहाड र हिमाल हेर्न तथा जहाँ–जाँदा पनि नेपाली नागरिकबाट न्यानो माया पाएको स्मरण गर्दै राजदूत मायदाले अहिले राजदूतका रूपमा नेपाल आउँदा अझ खुसी लागेको धारणा व्यक्त गरे ।
कार्यक्रम आयोजक संस्था जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले विगत पाँच दशकदेखि नेपाल–जापानबीचको सम्बन्ध सुमधुर बनाउन, जापानी प्रविधि नेपालमा भित्र्याउन र देशको आर्थिक विकासमा सहयोग पुर्याउन उल्लेख्य भूमिका खेलेको बताए ।
