काठमाडौँ। निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन अधिकारलाई थप व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा उनीहरूले ट्रेड युनियनको अधिकार खोस्नेतर्फ ध्यान नदिन आग्रह गरे।
सामूहिक सौदाबाजी कर्मचारीको संवैधानिक अधिकार रहेको उल्लेख गर्दै उनीहरूले ट्रेड युनियन अधिकारलाई तलमाथि गर्नै नहुने बताए।
‘ट्रेड युनियन अधिकार एक इन्च पनि तलमाथि गर्न पाइँदैन, अहिले विधेयकमाथिको छलफलमा ट्रेड युनियनलाई लिएर जे बहस भइरहेको छ, यो संविधानको बर्खिलाप छ,’ नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले भने।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले राजनीतिक परिवर्तनमा कर्मचारी वर्गको भूमिकालाई स्मरण गर्न आग्रह गरे। ‘विद्यमान ऐनमा ट्रेड युनियनसम्बन्धी जे–जस्तो अधिकार छ, त्यसलाई तलमाथि गर्नु हुँदैन, ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम दिँदैन,’ उनले भने।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ट्रेड युनियनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै आफ्नो हकहितका लागि कर्मचारीले ट्रेड युनियन रहनै नपाउने भन्नै नहुने बताए।
संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्बासेले संसद् सचिवालयका सचिव र महासचिव संसद् सेवाभित्रकै कर्मचारीमध्येबाट नियुक्त हुनुपर्ने व्यवस्था ऐनमा नै राखिनुपर्नेमा जोड दिए।
नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले कर्मचारीको सुरुवा प्रणालीलाई व्यवस्थित गरेर लैजान सुझाव दिए।