धनुषामा लाटोकोसेरो तथा हुचिल उत्सव हुँदै



धनुषा। मिथिला विहारी नगरपालिका-२ र ३ मा लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा) उत्सव २०८१ हुने भएको छ।

माघ २५ र २६ गते उक्त उत्सवको १२औँ संस्करण हुने आयोजक समितिका संयोजक देवनारायण मण्डलले जानकारी दिए।


मिथिला वाइल्ड लाइफ ट्रस्टको आयोजना र प्रकृतिका साथीहरू संस्थाको सहकार्यमा उक्त उत्सव हुने जनाइएको छ।

नेपाल, अमेरिका र इटालीमा मात्र आयोजना हुने यो अन्तर्राष्ट्रिय लाटोकोसेरो उत्सवले लोपोन्मुख लाटोकोसेरो तथा हुचिल संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखिएको छ।

संयोजक मण्डलले उत्सवमा निःशुल्क प्रवेश गराइने र उत्सवको पूर्वतयारीअनुरूप विभिन्न विद्यालयमा लाटोकोसेरो संरक्षण चेतना शिविर सञ्चालन भइरहेको बताए।

उत्सवमा चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शनी र वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिने आयोजकले जनाएको छ।

सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो।