दुर्लभ भ्रमणमा जापानद्वारा चिनियाँ सैन्य प्रतिनिधिमण्डललाई स्वागत



टोकियो । अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनअघि एसियाली छिमेकीहरूले चिसो सम्बन्ध सुधार्ने प्रयास गर्ने क्रममा चिनियाँ सैन्य प्रतिनिधिमण्डल एक दुर्लभ आदानप्रदान भ्रमणमा रहेको मङ्गलबार जापानले जनाएको छ ।

चिनियाँ जनमुक्ति सेना (पिएलए) को पूर्वी थिएटर कमान्डका सदस्यहरूले सोमबारदेखि शुक्रबारसम्म आफ्ना जापानी समकक्षी र वरिष्ठ जापानी रक्षा अधिकारीहरूसँग भेटवार्ता गरिरहेको जापानका शीर्ष सरकारी प्रवक्ता योशिमासा हायाशीले बताए ।


नोभेम्बरमा लाओसमा क्षेत्रीय रक्षा भेलाको छेउमा जापानी र चिनियाँ रक्षामन्त्रीहरूको भेटवार्तापछि यो भ्रमणको आयोजना गरिएको हो । त्यहाँ उनीहरूले सेनाहरू बीच आदानप्रदान बढाउन सहमति जनाएको हयाशीले जानकारी दिए ।

“पाँच वर्षपछि पहिलो पटक यसले सैनिकहरूबीच आदान–प्रदान पुनः सुरु गरेको छ”, उनले नियमित प्रेस ब्रिफिङमा भने, “कमान्डर स्तरमा खुला सञ्चारमार्फत आपसी बुझाइ र विश्वासको प्रवद्र्धनले जापान र चीनबीच रचनात्मक र स्थिर सम्बन्ध निर्माणमा योगदान पुर्याउनेछ, हामीलाई लाग्छ यो भ्रमणले क्षेत्रको शान्ति र स्थिरतामा योगदान पुर्याउँछ ।”

पिएलए पूर्वी थिएटर कमाण्डले पनि यही विचार व्यक्त गरेको छ । “यो भ्रमणले दुई पक्षबीच समझदारी र आपसी विश्वास बढाउन तथा चीन र जापानबीच रक्षा आदानप्रदानलाई बढावा दिन मद्दत गर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

जापान र चीनले वर्षौंदेखि क्षेत्रीय र ऐतिहासिक विवादका साथै अन्य मुद्दाहरूले तनावग्रस्त सम्बन्धलाई सुधार्ने प्रयास गरिरहेका छन् । तनाव कम गर्न जापानी विदेशमन्त्री ताकेशी इवायाले डिसेम्बरमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटेका थिए ।

जापानी सत्तारूढ सांसदहरू पनि कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीहरूसँग बैठकका लागि यस हप्ता चीनको भ्रमणमा छन् र जापानका कृषिमन्त्री बुधबार चीन जाँदै छन् ।

जापानका राष्ट्रिय सुरक्षा सल्लाहकार टेको अकिबाले नोभेम्बरमा चीनको भ्रमण गरी वाङसँग वार्ता गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका लागि मार्ग प्रशस्त गर्न टोकियोले अर्को महिना वाङलाई जापानमा निम्तो दिने अपेक्षा गरिएको निक्केई व्यापार दैनिकले गत हप्ता रिपोर्ट गरेको थियो । सन् २०१९ मा ओसाकामा भएको समूह २० को शिखर सम्मेलनमा अन्य विश्व नेताहरूसँगै आएको बाहेक सीले राष्ट्रपति बनेदेखि भ्रमण गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here