कास्की । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थानमार्फत किसानलाई तिर्न बाँकी भुक्तानीका लागि पहल भइरहेको बताएका छन् ।
केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३० औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले एक÷डेढ महिनाभित्र भुक्तानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
“उद्योगले किसानको दूधको भुक्तानी नगर्ने कारण खोजेर समस्या समाधानका लागि पहल गरिरहेका छौँ । आफूले नगदमा बिक्री गर्ने तर किसानबाट उधारोमा दूध लिनु राम्रो होइन । कृषकले समयमै आफ्नो पैसा पाउनुपर्दछ । यसका लागि मन्त्रालयले पहल गरिरहेको छ”, मन्त्री अधिकारीले भने ।
उनले आफू मन्त्रालयमा आउँदा संस्थानले कृषकलाई भुक्तानी गर्नुपर्ने रकम रु एक अर्ब ४८ करोड र कर्मचारीको रु ५० करोड गरी रु एक अर्ब ९८ करोड रहेकामा त्यसलाई कम गर्दै लगिएको बताए ।
कृषि र सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि आगामी नीति, कार्यक्रम र बजेटबाट सम्बोधन गरिने मन्त्री अधिकारीको भनाइ थियो ।