

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घरोगको औषधिसम्बन्धी लगत सङ्कलन गरिरहेको छ ।
कामपामा रहेका ज्येष्ठ नागरिकहरूलाई कस्तो किसिमको रोग लागेको छ र उनीहरूलाई कस्तो औषधि दिन सकिन्छ भन्ने जानकारी लिनका लागि लगत सङ्कलन गरिरहेको कामपा स्वास्थ्य विभागको भनाइ छ । उनीहरूलाई औषधिको उपलब्धता सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित पुस २२ गतेदेखि परिपत्र गरेर लगत सङ्कलन गरिरहेको कमपा स्वास्थ्य विभागले जानकारी दिएको छ ।


कामपामा रहेको ३२ वटै वडाको विवरण प्राप्त भएपछि उनीहरूको स्वास्थ्य प्रवद्र्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुनेछ, विभागका प्रमुख दीपक केसीले जानकारी दिए । प्रमुख केसीका अनुसार कामपाकै पञ्जीकरण शाखाबाट २०८१ साउन १ गतेसम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार सात सय ७० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ ।
मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोबाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । हालसम्म एक हजार चार सय ९६ जनाको विवरण प्राप्त भइसकेको छ । उनीहरूमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेको छ ।
महानगरपालिकाभित्रै बसोबास गरिरहेको छ भने ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको विवरण परिवारका सदस्य वा सहयोगी कसैले आफू बसोबास गरिरहेको नजिकैको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गएर पनि विवरण टिपाउन सकिनेछ ।
विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ३७ हजार ६ सय ५४ जना छ । ७० वर्ष उमेर पूरा भएकाको सङ्ख्या २३ हजार सात सय ७० जना छ । धेरै उमेर हुनेमा एक सय १० वर्ष उमेरको व्यक्ति हुन् ।
एक सय वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ४७ जना रहेको कामपाको भनाइ छ । नब्बे देखि ९९ वर्षसम्मका आठ सय ६४, असी देखि ८९ वर्षसम्मका पाँच हजार चार सय ८३ र सत्तरी देखि ७९ वर्षसम्मका १७ हजार तीन सय ७४ ज्येष्ठ नागरिक छन् ।
