बीबीसी । चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।
भूकम्प नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको र त्यसपछि कैयौँ परकम्पहरू मापन गरिएको अधिकारीहरूले बताएका छन् ।
नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ। चिनियाँ निकायहरूले भने उक्त भूकम्पको म्याग्निट्यूड ६.८ भएको जनाएका छन् ।
भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा भवनहरू भत्किएका छन् भने मानिसहरू भागेर सडकमा निस्किएका थिए। सामाजिक सञ्जालहरूमा राखिएका भिडियोहरूमा लात्से नगरनजिकै पसलहरू भत्किएको देख्न सकिन्छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन् । भूकम्पपछि त्यस क्षेत्रमा शक्तिशाली परकम्पहरू गइरहेका बताइएको छ। चिनियाँ सेनाले उद्धार प्रयास सुरु गरेको र मानवरहित ड्रोनलाई सगरमाथानजिकैको दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ ।