चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ ।
छिमेकी नेपालको राजधानी काठमाडौँ र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ ।
चीनको सरकारी प्रसारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ ।
फुटेजमा देखाइए अनुसार उद्धारकर्मीहरू भग्नावशेष बीच हिँडेका थिए भने केहीले स्थानीयवासीहरूलाई शून्य डिग्री भन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल दिएका थिए ।
भूकम्प मङ्गलबार बिहान करिब ९ः०० बजे (०१०० जिएमटी) नेपालसँगको सीमा नजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा गएको थियो ।
सिसिटिभीका अनुसार स्थानीय समयानुसार साँझ ७ः०० बजेसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन् ।
गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।