कैलालीमा माघीको रौनक



घोडाघोडी । जिल्लाका विभिन्न स्थानमा माघेसङ्क्रान्ति पर्व अर्थात् माघीको रौनक सुरु भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् । थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसे भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्नेलगायत काम सम्पन्न भएको स्थानीय बताउँछन् ।

पुसको अन्तिम दिनदेखि माघी सुरु हुने गरेका घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले बताए । उनका अनुसार पुसको अन्तिम दिन हरेक थारू बस्तीमा सामूहिक सुँगुर, बङ्गुर काटिने प्रचलन छ । यसलाई ‘जिता’ मार्ने भनिन्छ । 


पर्वसँगै थारू समुदायमा बरघर, भलमन्सा, चिराकी, चौकीदार फेरबदल गर्ने वा पुरानालाई राख्ने भन्नेबारे छलफल सुरु भइसकेको चौधरीले जानकारी दिए । ‘गाउँघरमा आगोको मुढाहरू ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतहरू पनि गाइने गरिन्छ । पुसको अन्तिम दिन रातभरि आगो तापेर आज बिहानै स्नान गर्ने प्रचलन छ’,  उनले भने । 

अध्यक्ष चौधरीका अनुसार माघीका दिन नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रलाई भेटघाट गर्ने, ठूलाबाट आर्शीवाद लिने र सानालाई आर्शीवाद दिने प्रचलन रहिआएको छ । माघेसङ्क्रान्तिका दिन नुहाउनाले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको उनले बताए । 

पर्वको अवसरमा कैलालीका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना हुन्छन् । घोडाघोडी नगरपालिकास्थित बुट्का बाबा मन्दिरमा माघी मेलाको आयोजना गरिएको छ । ‘भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिकस्थल बुटका बाबाको संरक्षण’ भन्ने मूल नाराका साथ माघेसङ्क्रान्ति तीर्थ मेला सुरु भएको मेला व्यवस्थापन समितिका संयोजक रामबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार गत पुस २९ गतेदेखि सुरु भएको मेला यही माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here