म्याग्दी । मालढुङ्गा–बेनी सडक अन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका–१ माझीबस्ती बाट जलजला गाउँपालिका–८ खनियाघाट सम्म दुई किलोमिटर कालोपत्र भएको हो ।
तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८६ लाखमा निर्माण व्यवसायी सँग सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताए ।
विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ । यसैबीच, बागलुङको गलकोट बाट सम्प्रेषण गरेको समाचार अनुसार बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ ।
दश किलोमिटर सडक मध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्से बाट काम शुरु भएको हो । आगामी चैत सम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो ।