इरानले सन् २०२४ मा ९ सय १ जनालाई मृत्युदण्ड दिएको छ : राष्ट्रसङ्घ



जेनेभा । इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घका मानवाधिकार (आइएचआर) प्रमुखले बताएका छन् । यसमा डिसेम्बरको एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ ।

“फेरि पनि हामीले इरानमा वर्षैपिच्छे मृत्युदण्ड पाउने व्यक्तिको सङ्ख्यामा वृद्धि देखिरहनु अत्यन्त चिन्ताजनक छ”, भोल्कर टर्कले भने, “सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड दिइएको बताइएको छ ।”


यो सङ्ख्या सन् २०२३ मा इरानमा मृत्युदण्ड दिइएका कम्तीमा ८५३ जनाको तुलनामा बढी हो । “इरानले मृत्युदण्डको यो बढ्दो लहरलाई रोक्ने समय आएको छ”, टर्कले विज्ञप्तिमा भने । इरानले हत्या, लागुऔषध तस्करी, बलात्कार र यौन दुर्व्यवहार लगायतका प्रमुख अपराधका लागि मृत्युदण्डको सजाय प्रयोग गर्दछ । इरानमा फाँसीमा वृद्धिप्रति कार्यकर्ताहरू बढ्दो रूपमा चिन्तित छन् ।

एम्नेस्टी इन्टरनेसनल लगायत मानव अधिकार समूहहरूका अनुसार इरानले चीनबाहेक अन्य कुनै पनि मुलुकको तुलनामा प्रतिवर्ष बढी मानिसलाई मृत्युदण्ड दिन्छ । यसका लागि कुनै विश्वसनीय तथ्याङ्क उपलब्ध छैन ।

उनीहरूले विशेष गरी सन् २०२२–२०२३ को देशव्यापी विरोधको पृष्ठभूमिमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका अधिकारीहरूमाथि समाजमा भय फैलाउने साधनको रूपमा मृत्युदण्डको प्रयोग गरिरहेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले गत वर्षको अधिकांश मृत्युदण्ड लागुऔषधसँग सम्बन्धित अपराधका लागि भएको तर ‘विद्रोही र सन् २०२२ को विरोध प्रदर्शनसँग सम्बन्धित मानिसहरूलाई पनि मृत्युदण्ड दिइएको’ बताएको छ ।

“मृत्युदण्ड दिइएका महिलाहरूको सङ्ख्यामा पनि वृद्धि भएको थियो ।” आइएचआरले सोमबार एक रिपोर्टमा सन् २०२४ मा इरानमा कम्तीमा ३१ महिलालाई मृत्युदण्ड दिइएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here