

बान्डा आचेह, इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक पर्यटकीय तटमा डुङ्गाबाट आएका दर्जनौँ रोहिङ्ग्या शरणार्थीलाई स्थानीयले अवतरण गर्न अनुमति दिएपछि अस्थायी आश्रयस्थलमा सारिएको एक अधिकारीले बिहीबार बताएका छन् ।
म्यान्माको अल्पसङ्ख्यक मुस्लिम रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेका कारण त्यहाँबाट शान्ति र रोजगारीको खोजीमा हरेक वर्ष हजारौँंले बङ्गलादेश, मलेसिया, इन्डोनेसिया पुग्न लामो र खतरनाक समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गरेका छन् ।


चार बालबालिकासहित ७६ शरणार्थीको पछिल्लो समूहलाई बुधबार राति आचेह प्रान्तको पूर्वी आचेह शहरको एक फुटबल मैदानमा पाल टाँगी अस्थायीरूपमा बस्नदिने प्रशासनले स्वीकृति दिएको हो ।
स्थानीय प्रशासनका अधिकारी इस्कन्दरका अनुसार अधिकारीहरूले सुरुमा शरणार्थीहरूलाई भाग्नबाट रोक्न र केही स्थानीय बासिन्दाहरूले शहरमा उनीहरूको उपस्थितिको विरोध गरेका कारण उनीहरूलाई डुङ्गाबाट ओर्लिन वा सामुद्रिक किनारबाट बाहिर जानबाट रोकेका थिए।
इस्कन्दरले एएफपीसँग भने, “धेरै घण्टा पछि एक सहमति मा पुगिएको छ । शरणार्थीहरूलाई अब ओर्लिन शिविरभित्र बस्न अनुमति दिइनेछ ।”
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका प्रतिनिधिहरूले स्थानीय बासिन्दा र अधिकारीहरूसँग वार्ता गर्न त्यस क्षेत्रको भ्रमण गरेका थिए।
इस्कन्दरका अनुसार अस्थायी आश्रयस्थलको क्षमता सीमित भए पनि यो अझै पनि अस्थायी आश्रयस्थलका रूपमा पर्याप्त छ ।
थकित देखिएका तर गम्भीर अवस्थामा नरहेका ती शरणार्थीले म्यान्माबाट समुन्द्री मार्गबाट केही दिन यात्रा गरेको बताएका छन् ।
इन्डोनेसियामा रोहिङ्ग्याहरूको आगमन आँधीबेहरी आउने र जाडो महिनाहरूमा सुस्त हुन्छ र समुद्रको अवस्था शान्त हुँदा बढ्छ ।
यसै महिनाको सुरुमा २६० भन्दा बढी रोहिङ्ग्या शरणार्थी आचेहको समुद्री तटमा पुगेका थिए ।
इन्डोनेसियाले संयुक्त राष्ट्रसङ्घको शरणार्थी महासन्धिमा हस्ताक्षर गरेको छैन र म्यान्मारबाट शरणार्थी ल्याउन बाध्य पार्न नसकिने बताउँदै छिमेकी देशहरूलाई बोझ बाँड्न र आफ्नो किनारामा आइपुगेका रोहिङ्ग्याहरूलाई पुनस्र्थापना गर्न आह्वान गरेको छ।
धेरै आचेनीहरू आफ्ना सँगी मुसलमानहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् तर कतिपयले उनीहरूको उपस्थितिलाई अस्वीकार गर्दै रोहिङ्ग्याहरूले दुर्लभ स्रोतहरू उपभोग गर्ने र कहिलेकाहीं स्थानीयहरूसँग द्वन्द्वमा आउने सम्भावनालाई देखाउँदै उनीहरूलाई स्वीकार्न नहुने बताउँछन् ।
