आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको नेपाल संस्कृत  विश्वविद्यालय सभाको ७७औँ  बैठकमा सम्बोधन गर्दै  कुलपति ओलीले संस्कृत शिक्षाले समाजको विकासका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताए।


प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यलयले अगुवाइ गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पतिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाको उचित जगेर्ना गर्ने पनि स्पष्ट गरे।

बैठकमा सहकुुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम उच्चशिक्षालाई प्रतिस्पर्धी, उत्पादनमुखी र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिए। नव नियुक्त उपकुलपति प्राडा धनेश्वर नेपालले हाम्रा प्राचीन ऋषिमहर्षिको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङ्मयमा ज्ञानविज्ञानको धारा प्रवाहित हुँदै आएकाले यसको मौलिकताको रक्षाका साथै आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैठकले २०८१/०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आय व्यय (बजेट) पारित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here