


बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आवश्यक कागजात नभएका विदेशी आप्रवासीहरूलाई राख्न क्युबास्थित कुख्यात अमेरिकी सैनिक बन्दी केन्द्र ‘ग्वान्टनामो बे’ मा हिरासत केन्द्र बनाइने बताएका छन् ।
ट्रम्पले त्यहाँ ३० हजार गैरकानुनी आप्रवासीहरू राख्ने मिल्ने स्थान बनाइने बताएका हुन् । उनले क्युबास्थित अमेरिकी जलसेनाको आधार अखाडा रहेको उक्त स्थानमा त्यहाँ रहेको उच्च सुरक्षायुक्त सैनिक जेलभन्दा अलग्गै त्यस्तो नयाँ आप्रवासी हिरासत केन्द्र बनाइने र त्यसमा ‘अमेरिकी जनताका लागि खतरा बनेका सबैभन्दा खराब अपराधी गैरकानुनी आप्रवासीहरूलाई’ राखिने बताएका छन् ।


ग्वान्टनामो बेस्थित सैन्य जेलमा थुनुवाहरूलाई ‘चरम र अमानवीय’ खालका यातना दिइने गरेको भनेर मानवअधिकारवादीहरूले व्यापक आलोचना गर्दै आएका छन् ।
ट्रम्पले आफ्नो आदेशअनुसार पूर्वाधार बनेपछि आवश्यक कागजात नभएका आप्रवासीहरूलाई थुनामा राख्ने क्षमता दोबर हुने बताए ।
बुधवार नै ट्रम्पले नियुक्त गरेका, बोर्डर त्सार, भनिने सीमा सुरक्षा सम्बन्धी सर्वोच्च अधिकारी टम होमनले ग्वान्टानामो बे स्थित हालका संरचनालाई विस्तार गरिने र त्यसको सञ्चालन आप्रवासन र भन्सार मामिलाको एक निकाय आइसिइ ले गर्ने बताएका छन् ।
त्यस्तो बन्दी केन्द्र तयार पार्न कति खर्च लाग्छ र त्यो कहिलेसम्म निर्माण भैसक्छ भन्ने विषय स्पष्ट भैसकेको छैन । क्युबाका राष्ट्रपति मिगेल डियास–कनेलले ट्रम्पको निर्णयको निन्दा गर्दै त्यसलाई ‘अवैध रूपमा कब्जा गरिएको’ आफ्नो भूभागमा भइरहेको ‘क्रूर कार्य’ भनेका छन् ।
सन् २००१ को सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा भएको हमलापछि आतङ्ककारी गतिविधिमा संलग्न ठानिएका संदिग्धहरूलाई अनिश्चित कालसम्म हिरासतमा राख्न उक्त जेलको प्रयोग हुँदै आएको छ ।
ट्रम्पले चोरी वा हिंसात्मक गतिविधिको आरोपमा पक्राउ परेका अवैध आप्रवासीलाई अदालतमा सुनुवाइ हुनुपूर्व हिरासतमा राख्न आवश्यक पर्ने एउटा कानुनमा हस्ताक्षर गर्नुअघि त्यस्तो घोषणा गरेका थिए।
