

बीबीसी । वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ।
स्थानीय समयानुसार बुधबार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एयरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो । चालक दलका चार र यात्रु ६० जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो ।


एफएएले विमान रेगन वाशिङ्टन नेशनल एयरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको हो । अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।
दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक रहेका एक अधिकारीले बताएका छन् ।
एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई ती सैनिकहरूको अवस्था अज्ञात रहेको जानकारी दिएका छन् । वाशिङ्टन डीसीमा तापक्रम निकै कम भएकाले उद्धारकार्य चुनौतीपूर्ण हुने देखिएको छ।
