

बीबीसी । अनुसन्धानकर्ताहरूले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा दुर्घटनामा परेको यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ फेला पारेका छन् ।
स्थानीय समयानुसार बुधबार राति वाशिङ्टनस्थित विमानस्थलमा अवतरण गर्न लागेको अमेरिकी एयरलाइन्सको यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो ।


उक्त विमानमा यात्रा गरिरहेका चालक दलका सदस्यसहित ६४ जना र सैन्य हेलिकप्टरमा रहेका तीन जना कोही पनि जीवित नरहेको ठानिएको छ । हाललाई दुर्घटनास्थलमा भइरहेको खोजी कार्य स्थगित गरिएको अधिकारीहरूले बताएका छन् ।
उक्त दुर्घटनापछि विमानस्थलमा कर्मचारी अभाव तथा विमान अवतरण गर्दै गर्दा दुर्घटनाका सम्भावित अवस्थालाई बेवास्ता गरिएको भन्दै विभिन्न प्रश्न उठेका छन् । तर उक्त दुर्घटना भएका बेला वाशिङ्टनस्थित विमानस्थलमा एक मात्र एयर ट्राफिक कन्ट्रोलर रहेको पाइएको छ ।
वाशिङ्टनको आकाश विश्वका सबैभन्दा नियन्त्रित हवाई क्षेत्रमध्ये एकमा पर्छ । अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्।
यातायात सुरक्षासम्बन्धी अमेरिकी राष्ट्रिय निकाय एनटीएसबीले दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन ३० दिनभित्र आउने बताएको छ ।
दुर्घटनास्थलनजिकै रहेको एनटीएसबीको प्रयोगशालामा ब्ल्याक बक्स लगिने छ र त्यसको जाँच हुने छ ।बगोताखोरहरूले बिहीवार दिनभरि पोटोम्याक नदीमा पसेर खोजी कार्य गरेका थिए। तर उनीहरूले वाशिङ्टनको समयानुसार बिहीवार साँझदेखि खोजी कार्य स्थगित गरेका छन् ।
स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जोन डनेलीले विमान खसेको स्थानबाट कम्तीमा २८ वटा शव निकालिएको बताएका थिए ।
