

काठमाडौं । संसदका विपक्षी दलहरु सरकारले ल्याएको अध्यादेशकाविरुद्ध एक भएर उभिने भएका छन् ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलको बैठकले शुक्रबारदेखि सुरू हुने हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशविरूद्ध एक भएर उभिने निर्णय गरेको हो ।


नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशलाई संसदबाट अस्वीकार गर्ने निर्णय भएको जानकारी दिए । उनले भने,‘अध्यादेश प्रक्रियागत हिसाबले नै गलत छ भन्ने हाम्रो निष्कर्ष हो । यसविरुद्ध विपक्षी दलहरु एकठाउँमा उभिन्छौं ।’
त्यस्तै बैठकले राष्ट्रियता, जनजीविका र महंगी नियन्त्रणलगायतका विषयमा संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरूको सहभागिता थियो । संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।
