काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा भएको हातपातमा पार्टीका कोही सदस्य संलग्न भएको पाइए कारबाही गरिने बताएको छ।
रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्। त्रिपाठी कुटपिट भएको विषयमा पार्टीको अनुशासन विभागको ध्यानाकर्षण भएको र घटनामा दलको कुनै पनि सदस्य संलग्न भेटिए कारबाही हुने उनको भनाइ छ।
यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य नहुने रास्वपाले जनाएको छ।
यस्तो छ विज्ञप्ति
आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात् अदालतबाट निस्किँदै गर्दा वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीज्यू माथि हातपात भएको घटनाबारे जानकारी पायौँ।
पक्कै पनि यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन।
यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ।
धन्यवाद
मनिष झा
प्रवक्ता (कार्यवाहक)