काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज पनि बैंक तथा वित्तीय संस्थाहरूमा भएको रकम खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार ४० अर्ब रुपैयाँ झिक्न लागेको हो ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको बताइएको छ । यसका लागि आज दिउँसो २ बजे बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप सङ्कलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ