भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन । सडक निर्माणको माग गर्दै स्थानीयले पटक-पटक आन्दोलन गरे । सरकारले पटक-पटक म्याद थप गरेर सहजीकरण गरे पनि काम हुने अवस्था नदेखिएपछि अन्ततः सरकारले भक्तपुर-नगरकोट-सिपाघाट सडकको ठेक्का सम्झौता रद्द गरेको छ ।
पटक-पटक म्याद थप गर्ने तर ठेकेदारबाट बारम्बार सम्झौता उल्लंघन हुन थालेपछि उक्त सडक स्तरोन्नति परियोजनाका लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त सम्झौता सरकारले रद्द गरेको हो । निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न यसअघि पनि पटकपटक सूचना जारी गरेको थियो । त्यसताका अन्तिममा म्याद थप हुने गरेको थियो ।
सरकारले अन्तिम पटक मंसिर मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी १०औँ पटक म्याद थप गरे पनि कम्पनीले सोअनुसार कुनै प्रगति गरेन । गत साता निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्नु नपर्ने कारणसहित सातदिने स्पष्टीकरण माग गरेको थियो । निर्देशनालयका भक्तपुर नगरकोट सडक निर्माण आयोजना प्रमुख मेघराज मरासिनीले गत बुधबार सरकारका तर्फबाट ठेक्का सम्झौता रद्द गरेको जानकारी दिए । उनले भने, ‘भक्तपुर नगरकोट सडकको ठेक्का सम्झौता रद्द भएको छ । अब निर्माण कम्पनीले सम्झौताअनुसारको गर्नुपर्ने काम कति बाँकी छ त्यसको अनुगमन एवं मूल्याङ्कन हुनेछ । त्यसपछि निर्माण कम्पनीसँग सोही मूल्याङ्कनको आधारमा जरिवाना लगाउने र सडकको बाँकी काम कसरी गर्ने भन्नेबारेमा छलफल गरेर अगाडि बढ्छ ।’
एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग ३ असार २०७३ सम्म सम्पन्न गर्नेगरी २२ जेठ २०७१ मा सैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्नेगरी रु २७ करोडमा ठेक्का सम्झौता भएको थियो । सडकको लागत बढेर भ्याटसहित ३१ करोड रुपैयाँ पुर्याउँदा पनि निर्माण कम्पनीले विभिन्न बहाना गर्दै सडक निर्माण सम्पन्न गरेको थिएन ।
सडक छिटो सम्पन्न गर्न माग गर्दै चाँगुनाराण नगरपालिका, नगरकोटका होटल एवं पर्यटन व्यवसायी, स्थानीयवासीलगायतले पटकपटक विरोध गर्दै आएका थिए । यता निर्माण कम्पनी एससिसिपिएल र यसको भारतीय साझेदार एआइपिएलले बिहीबार विज्ञप्ति जारी गर्दै भक्तपुर–नगरकोट–सिपाघाट सडक स्तरोन्नति परियोजनाका लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त उद्यम सम्झौता रद्द गरेको जनाएको छ ।
कम्पनीले निर्देशनालयले गरेको बारम्बारका गल्तीहरू समाधान गर्न असफल भएको र गत ९ असोज २०८० मा प्रमाणित गरिएको आइपिसी–१४ भुक्तानी अहिलेसम्म नदिइएकाले परियोजनाको वित्तीय अवस्थामा गम्भीर असर पर्न गएकाले रद्द गर्नु परेको जनाएको छ । सडक निर्माणको ठेक्का सम्झौता रद्द भएपछि यहाँका सरोकारवाला भने खुसी भएका छन् । चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले सैलुङ कन्स्ट्रक्सनले ११ वर्ष लाग्दासमेत सडक निर्माण सम्पन्न नगरेर स्थानीयवासीलाई दुःख दिएकामा अब त्यसबाट मुक्ति पाइने आशा व्यक्त गरे । उनले यहाँका पर्यटन व्यवसायीलाई दुःख दिएको अवस्थामा ठेक्का सम्झौता रद्द भएसँगै अब थप काम गर्न बाटो खुलेको बताए ।
नगरपालिकाले २०८२ वैशाखदेखि चैतसम्म एकवर्षे नगरकोट महोत्सव- २०८२ को आयोजना गर्ने घोषणा गरेर सडक निर्माण छिटो सम्पन्न गर्न पटकपटक दबाब, विरोध एवं आन्दोलन गर्दा पनि बेवास्ता भएपछि महोत्सव नै सङ्कटमा पर्ने डर अब हटेको बताए । उनले नगरकोट महोत्सवलाई दृष्टिगत गर्दै सरकारले सडकको स्तरोन्नति छिटो गर्नुपर्ने बताए । ‘चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट महोत्सव सिङ्गो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउने त्रास थियो । अब सरकारले महोत्सव अगाडि नै छिटोभन्दा छिटो सडक स्तरोन्नति गर्नुपर्छ, त्यसका लागि मन्त्रालयसँग पनि समन्वय र छलफलमा बस्छौँ,’ उनले भने ।
उनले सरकारले पनि उक्त सडक निर्माणमा ढिलाइ गरे चाँगुनारायण नगरपालिका आफैँले बहुवर्षीय आयोजनाअन्तर्गत स्तरोन्नति गर्ने बताए । चाँगुनारायण नगरपालिका–६ का अध्यक्ष धनबहादुर लामाले सडक सम्झौता रद्द हुँदा खुसी हुनुपर्ने बेला आएको भन्दै नगरकोट महोत्सवलाई सफल पार्न सरकारले सडक स्तरोन्नतिमा चासो दिनुपर्ने बताए ।