काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल शिक्षक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष मोहन ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज आइतबार शोक विज्ञप्ति जारी गरी उनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।
ज्ञवालीको यही मङ्सिर १४ गते निधन भएको थियो । उन नेपाल शिक्षक सङ्घ कास्कीको पूर्वजिल्ला अध्यक्ष, नेपाल शिक्षक सङ्घको पूर्वकेन्द्रीय महासचिव, नेपाल शिक्षक युनियनका संस्थापक महासचिव, सार्क शिक्षक महासङ्घको एक कार्यकाल अध्यक्ष तथा नेपाल शिक्षक सङ्घको दुई कार्यकाल केन्द्रीय अध्यक्ष रहेका थिए ।
विसं २०२२ असोज २ गते जन्मेका स्व ज्ञवालीले कांग्रेस र नेपाल शिक्षक सङ्घको सङ्गठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन तथा शैक्षिक क्षेत्रको विकासका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट कांग्रेसले एक कुशल र अनुभवी शिक्षाविद्लाई गुमाएको जनाएको छ ।